बार्सिलोना युरोपा लिगबाट बाहिरियो, यो सिजन उपाधिविहीन !

काठमाडौं, २ वैशाख । स्पेनिस् क्लब बार्सिलोना युरोपा लिगबाट बाहिरिएको छ । गएराति भएको खेलमा आफ्नै मैदानमा जर्मन क्लब आइनट्राख्ट फ्रान्कुर्टसँग ३-२ ले तथा समग्रमा ४-३ ले पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

यसअघि पहिलो लेगमा फ्रान्कफुर्टसँग १- १ गोलको बराबरी खेलेको बार्सिलोनाले घरेलु मैदानमा भएको दोस्रो लेगमा हार व्यहोर्दै बाहिरिएको हो।

नोउक्याम्पमा भएको खेलमा घरेलु टोलीले पाहुना टोलीमाथि ७५ प्रतिशत बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न चुक्दा बार्सिलोना बाहिरिन पुग्यो ।

फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

खेलको चौथो मिनेटमै फ्रान्कफुर्टले अग्रता लिएको थियो । कोस्टिकले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्कफुर्टलाई अग्रता दिलाएका थिए ।

३६औँ मिनेटमा सान्तोष बोरले गोल गर्दै फ्रान्कफुर्टको अग्रता दोब्बर पारे । ६७औँ मिनेटमा कोस्टिकले गोल गर्दै फ्रान्कफुर्टलाई ३-० को अग्रता दिलाए ।

बार्सिलोनाले इन्ज्युरी समयमा दुई गोल गरेपनि हार टर्न सकेन । बुस्क्वेट्सले इन्ज्युरी समयको पहिलो मिनेटमा र डिपाएले ११औँ मिनेटमा गोल गरेका थिए ।

युरोपा लिगबाट पनि बाहिरिएको बार्सिलोना यो सिजन उपाधिविहीन बन्नुपर्ने स्थिति बनेको छ । बार्सिलोना यसअघि च्याम्पियन्स लिग र कोपा डेल रेबाट पनि बाहिरिसकेको छ । अब स्पेनिस ला लिगाको मात्रै सम्भावना रहँदा त्यहाँ पनि बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १२ अंकले पछि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here