मनमोहन अस्पतालमा आईभिएफ सेवा शुरु, निःसन्तान दम्पतीको पीडालाई खुशीमा बदल्ने प्रतिबद्धता

काठमाडौं, ११ बैशाख । मनमोहन अस्पतालमा आईभिएफ सेवा आजबाट सुरु गरिएको छ ।

निसन्तान दम्पतीहरुलाई लक्षित गरेर सुरु गरिएको आईभिएफ (टेष्ट ट्युव बेवी) सेवाको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र नेपालकै पहिलो आईभिएफ सेवा सुरु गर्ने चिकित्सक डा. भोला रिजालले संयुक्त रुपमा मनमोहन आईभिएफ सेवाको उद्घाटन गरेका हुन् ।

निसन्तान दम्पत्तिहरुका लागि टेष्ट ट्युव वेवी सेवाको सुरुवात गर्दै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मनमोहन अस्पतालको सेवा अझै फराकिलो र विस्तारित भएको बताए । साथै सो अबसरमा मुख्यमन्त्री पाण्डेले मनमोहन शिक्षण अस्पतालले कलेजको मान्यता नपाउनु दुर्भाग्यपूर्ण भएको बताए ।

उनले देशमा १९ जनाले निजि शिक्षण अस्पताल सञ्चालन गर्दा दुई हजार ८ सय जनाले लगानी गरेको र सहकारीको माध्यमबाट सञ्चालित मनमोहन अस्पताललाई योजनाबद्ध तरिकाले रोकिएको आरोप लगाए ।

उनले मनमोहन अस्पतालले सर्वसुलभ रुपमा सेवा प्रवाह गर्ने डरले निजि मेडिकल कलेजहरुको योजनामा मनमोहनलाई रोक्ने काम भएको आरोप समेत लगाए ।
टेष्टट्युव वेवी सेवा सुरुवात कार्यक्रममा डा. भोला रिजालले नेपालमै टेष्टट्युव वेवी सेवाले नेपाली निसन्तान दम्पत्तिहरुलाई राहत हुने विश्वास व्यक्त गरे । साथै यसले उपचारका लागी बाहिर जान नपर्दा नेपाली पैसा स्वदेशमै खर्च हुनेमा खुशि व्यक्त गरे ।

अस्पतालका निर्देशक डा. बंशिधर मिश्रले निसन्तान दम्पत्तिहरुको पीडालाई खुशीमा बदल्न यस्तो सेवा थप गरिएको जानकारी दिए ।

कार्यक्रममा डा. उषा श्रेष्ठ खाँड, बाला मल्ल श्रेष्ठ र चुनुमिला महर्जनले संयुक्त रुपमा नेतृत्व गरेको मनमोहन आईभिएफ प्रा.लिले आजबाट औपचारिक रुपमा सेवा सुरु गरेको जानकारी दिइएको थियो ।

१८ वर्ष पहिले डा. भोला रिजालले पहिलो पटक सुरु गरेको टेष्टट्युव बेवी विस्तारै फराकिलो हुँदै गएर मनमोहन अस्पतालमा सेवा विस्तार गरिएको जानकारी डा. उषा श्रेष्ठ खड्गीले जानकारी दिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here