काठमाडौं, १६ वैशाख । हेटौंडामा बर्डफ्लू भेटिएको छ ।
भेटनरी अस्पताल तथा पशुसेवा केन्द्र मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीस्थित व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो ।
बर्डफ्लू भेटिएपछि प्राविधिकसहितको टोली खटाएर तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ ।
कुखुरा फार्ममा रहेका चार हजार कुखुरामध्ये सयौँ संख्यामा मा कुखुरा मरेपछि शंका लागेर वैशाख ९ गते कुखुराको नमूना पशु विभाग काठमाडौं पठाइएको र सात दिनपछि बिहीवार बर्डफ्लू प्रमाणित भएको रिपोर्टको आधारमा कुखुरा नष्ट गरिएको जनाइएको छ ।
आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरासँगै छिमेकमा रहेका अन्य पोल्ट्री फार्मको नमूना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
थप संक्रमण बढ्न नदिन सो आसपासका फार्मको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याइएको केन्द्रले जनाएको छ । ‘एच फाइभ एन वान’ भाइरसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा एकजना मानिसको मृत्युसमेत भएको थियो ।