ग्यास दुर्घटना न्यूनीकरणका लागि ओम ग्यासको सचेतना

काठमाडौं, २८ असार । ग्यासको बढ्दो प्रयोग र दुर्घटना न्यूनीकरणका लागि ग्यास उद्योगी अग्रसर हुन थालेका छन् । केही वर्ष अघिसम्म आयल निगमले नै ग्यास सचेतना कार्यक्रम गर्नुपर्ने भन्दै अडान राख्ने उद्योगीहरु आफै सचेतना अग्रसर हुन थालेका हुन् ।

त्यसै क्रममा ओम ग्यासले शनिबार टोखा नगरपालिकामा सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले हरेक घरको भान्छामा पुग्ने ग्यासको प्रयोगमा ध्यान दिनुपर्ने बताए । ‘हरेक भान्छाको पुग्ने ग्यास प्रयोगमा हरेक उपभोक्ता सचेत बन्नुपर्छ । रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ,’ उनले भने ।

ग्यासको सुरक्षित प्रयोगका लागि नगरपालिकाभित्र सचेतना कार्यक्रम गर्ने प्रतिवद्धता समेत अधिकारीले जनाए । ग्यासको सुरक्षित प्रयोगको जानकारी गराउन बजेट पनि विनियोजन गर्ने र आफ्नो क्षेत्रमा बसोबास गर्ने जनतालाई सुरक्षित बनाउने प्रयास गर्ने उनको भनाइ थियो ।

ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष महेश्वर श्रेष्ठले आफू नेतृत्वमा आउँदा गरेको प्रतिवद्धता अनुसार बिक्रेताको कमिशन बढेको बताउँदै अब डिलर प्रमाणिकरणलाई प्राथमिकतामा राखेको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले महासंघले ग्यासको सुरक्षित प्रयोगका लागि विभिन्न नगरपालिकाको सहकार्यमा सचेतना कार्यक्रम गर्दै आएको जानकारी दिए । कार्यक्रममा ओम ग्यासका अध्यक्ष हरि पाठकले आफू ग्यास क्षेत्रको सुधारका लागि सधै प्रतिवद्ध रहेको बताउँदै त्यही प्रतिवद्धता अनुसार सचेतना कार्यक्रम गरेको बताए ।

म ग्यास उद्योग संघको अध्यक्ष हुँदा सुधारको कार्यक्रम अघि बढाएको थिएँ । अहिले नेतृत्वमा नभएपनि सुधारलाई निरन्तरता दिइरहेको छु, उनले भने । आफू उद्योगी मात्रै नभइ उपभोक्ता समेत भएकोले पनि ग्यास उद्योगको पूर्वाधारदेखि ढुवानीसम्ममा सुरक्षालाई ध्यान दिएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here