काठमाडौंको सडकमा साझाका विजुली बस चलाउने तयारी

२६ वैशाख, काठमाडौं । काठमाडौंको सडकमा साझा यातायातका विजुली बस चल्ने भएका छन् । कम्पनीले तीनवटा विद्युतीय बस काठमाडौँ ल्याएको हो । पहिलो चरणमा ल्याइएका ती बसको परीक्षण सफल भएपछि थप ३७ वटा बस ल्याउने साझा यातायातका तयारी छ ।

परीक्षणपछि यी बस काठमाडौँमा सञ्चालन गरिने साझा यातायातले जनाएको छ । बसको दर्ता, रुट परमिट, बीमा, चालकलाई तालिमलगायतका प्राविधिक काम सम्पन्न भएपछि परीक्षण गरिने भएको हो । परीक्षण सफल भएको चार महिनामा बाँकी ३७ वटा विद्युतीय बस आउने छन् ।

साझाले चीनको सीएचटीसीएचओ कम्पनीसँग एउटा बसलाई डेढ करोड रुपियाँका दरले खरिद गरेको हो । ४० वटा बसको मूल्य करिब ६१ करोड रुपियाँ पर्छ । परीक्षणका लागि पहिलो चरणमा नौ मिटर लम्बाइका बस ल्याइएको छ । अब १२ मिटर लम्बाइका लामो दूरीमा सञ्चालन गर्ने बसहरू ल्याइने छ ।

अहिले २५ सिट र सोभन्दा बढी क्षमताका बस ल्याइएको छ । सरकारले २०७५ पुसमा तीन सय विद्युतीय बस सरकारले खरिद गर्ने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत साझालाई बस खरिदका लागि तीन अर्ब रुपियाँ दिइएको छ ।

तर साझाले सम्झौताअनुसार काम नगरेको भन्दै २०७६ असोजमा उक्त रकम फिर्ता लिइएको थियो । २०७७ माघमा मन्त्रालयले फेरि साझालाई नै बस खरिद गर्न तीन अर्ब रुपियाँ दिएको थियो । सोही सम्झौताअनुसार साझाले पहिलो चरणमा तीनवटा विद्युतीय बस ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here