काठमाडौं, २ जेठ । स्थानीय चुनावको प्रारम्भिक मतगणनाको परिणामले विवेकशील साझा पार्टी दुखी भएको छ ।
सोमबार बिहान पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गरी विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेको भन्दै दुख व्यक्त गरेका छन् ।
विवेकशील पराजितका विषयमा टीकाटिप्पणी भइरहेका बेला पाठकले भनेका छन्, ‘कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अङ्गीकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्।
अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ ।’
उनले वैचारिक उथलपुथल र कमजोरीका बाबजुद इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता कहिल्यै नगुमाएको दाबी गरेका छन् । ‘अरू कयौँ पार्टीहरूले पैसाको खोलो बगाइरहँदा, पार्टीबाट एक पैसा सहयोग नहुने स्पष्ट हुँदाहुँदै पनि परिवर्तनको आकाङ्क्षाले आँट गरेर चुनावमा होमिनु भएका पार्टीका सम्पूर्ण उम्मेदवारहरूप्रति पार्टी अत्यन्तै आभारी छ,’ विज्ञप्तिमा भनिएको छ ।
पार्टीभित्रको वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल, पार्टीको टुटफुटका कारण स्थानीय चुनावमा जनताले विवेकशील पार्टीलाई मन नपराएको भन्दै क्षमासमेत मागेको छ । विवेकशील पार्टीले उम्मेदवार उठाएको काठमाडौं महानगरपालिकासहित देशभर सबै ठाउँका उम्मेदवारको जमानत जफत हुने अवस्था देखिएको छ ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ :-
प्रेस विज्ञप्ति:
स्थानीय निर्वाचन २०७९ को जारी नतिजाबारे
स्थानीय निर्वाचन, २०७९ को परिणाम आउने क्रम जारी छ। विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोमा हामी अत्यन्तै दुःखी छौँ।
गत पाँच वर्षमा हामीले स्थानीय, संघीय, उप र पुनः स्थानीय चुनावमा प्रतिस्पर्धा गरिसकेका छौँ। त्यसबाट हामीले देश भरी पार्टीको परिचय स्थापना गर्न सफल भयौँ तर मूलतः निरन्तर समय दिन सक्ने जनशक्ति र आर्थिक स्रोतको अभावमा देशव्यापी सङ्गठन बनाउन सकेनौँ, जुन स्थानीय निर्वाचनमा राजनीतिक दलका लागि अत्यावश्यक थियो।
साथसाथै, पार्टीमा हामीले टुटफुट लगायत वैचारिक ध्रुवीकरणले ल्याएको उथलपुथल पनि ब्यहोर्नुपऱ्यो। हाम्रोजस्तो आशा गरिएको पार्टीभित्रको त्यो उतारचढावलाई मतदाताले मन नपराएको प्रस्ट देखियो। हामी त्यसमा क्षमा प्रार्थी छौँ।
अपवादलाई छोडेर, पार्टी निर्माणको स्वाभाविक प्रसव पीडाबाट पार नगरी संसारमा कुनै पनि पार्टी र नेतृत्व निर्माण भएको छैन। गत ५ वर्ष हामी त्यही प्रक्रियाबाट गुज्रियौँ। यो तथ्यलाई पनि मनन गरिदिन हामी विनम्र आग्रह गर्दछौँ।
कतिपय टिप्पणीकार तथा सञ्चारमाध्यमहरूले पार्टीको अत्यन्तै कमजोर नतिजामा पार्टीले केही समयअघि अङ्गीकार गरेको “विचारभन्दा माथि देश” दस्ताबेजको भूमिका रहेको विश्लेषण गरिरहेका छन्। अहिले मात्र होइन, सो दस्ताबेज नआउँदै र पार्टीमा कुनै वैचारिक विवाद नहुँदै २०७६ सालमा भएको उपनिर्वाचनमा पनि पार्टीले यस्तै कमजोर नतिजा भोग्नु परेको थियो, जुन सोचनीय विषय छ।
वैचारिक उथलपुथल र कयौँ अन्य कमजोरीका बाबजुद हामीले हाम्रो इमानदारी, देशभक्ति र समाज रूपान्तरणको दृढता भने कहिल्यै गुमाएनौँ। त्यो कहिल्यै गुम्ने पनि छैन। यो हाम्रो प्रतिबद्धता हो। गत पाँच वर्षको पार्टी निर्माणको अनुभवबाट हामीले धेरै सिक्यौँ। ती सिकाइका आधारमा हामीले अब केही निर्मम समीक्षा र निर्णयहरू गर्नु पर्नेछ, जुन हामी गर्नेछौँ।
अरू कयौँ पार्टीहरूले पैसाको खोलो बगाइरहँदा, पार्टीबाट एक पैसा सहयोग नहुने स्पष्ट हुँदाहुँदै पनि परिवर्तनको आकाङ्क्षाले आँट गरेर चुनावमा होमिनु भएका पार्टीका सम्पूर्ण उम्मेदवारहरूप्रति पार्टी अत्यन्तै आभारी छ। त्यसै गरी, निर्वाचन लगायत पार्टीको सम्पूर्ण उथलपुथलमा साथ दिने, नैतिक, आर्थिक र भौतिक सहयोग गर्ने सम्पूर्ण नेपालीहरूप्रति विवेकशील साझा पार्टी हार्दिक आभार प्रकट गर्दछ।
शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी