बजेट अधिवेशन आजदेखि , यी हुन् सम्भावित कार्यसूची

फाइलफोटो

काठमाडौं, ३ जेठ । संसद्को बजेट अधिवेशन आज मंगलबारदेखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाएकी छन् ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम १४२ (४) ले सदनमा बजेट पेसभन्दा कम्तीमा १५ दिनअघि प्रि–बजेट छलफल सक्नुपर्ने व्यवस्था गरेको छ। जेठ ३ देखिमात्र अधिवेशन प्रारम्भ हुने भएपछि नियमावलीले तोकेको उक्त समयसीमा पूरा नहुने भएकाले नियम निलम्बन गर्ने तयारी गरिएको हो।

स्थानीय तह निर्वाचनका कारण यसपालिको बजेट अधिवेशन केही ढिलागरी सुरु हुन लागेको हो। विगतका वर्षमा बजेट अधिवेशन वैशाख तेस्रो सातासम्म सुरु भइसक्थ्यो।

अधिवेशन सुरु भएसँगै सरकारका तर्फबाट बजेटको सिद्धान्त र प्राथमिकता पहिलो बैठकमै पेस गरिने तयारी भइरहेको छ।

आजको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्नेछन्। जेठ ४ र ५ गते छलफल हुनेछ।

बैठकमा सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउनेलगायत विषयलाई कार्यसूचीमा राखिएको छ ।

यता एमालेले भने यसअघि जस्तै विरोध जारी राख्ने जनाएको छ। एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको छ ।

जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ।

यो प्रस्ताव मंगलबारको बैठकमा राख्न लागिएको छ । मंगलबार संसद्को बैठक बस्नुअघि २ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकबाट पाएको परामर्शका आधारमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल कार्यविधि तय हुनेछ।

छलफलका आधारमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक प्रस्तुत गर्नेछन्। जेठ ७ मा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भए पनि सरकारले संसद्लाई यसबारे जानकारी गराएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here