‘इम्बोस्ड नम्बरमा नागरिकलाई तर्साउने काम तत्काल पुनरावलोकन होस्, नभए जनताले अवज्ञा गर्छन्’

काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री गगन थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयमा पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा थापाले गत शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेर असार मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्न डर, त्रास र धम्कीपूर्ण भाषामा सरकारले उर्दी दिएको भन्दै आपत्ति जनाएका हुन् ।

‘यातायात मन्त्रालयले दण्ड र जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने काम गरेको छ,’ सांसद थापाले आज प्रतिनिधि सभा बैठकमा भने, ‘जवरजस्तीलाई बन्द गरियोस् होइन भने नागरिकले अवज्ञा गर्छन्। त्यसअघि सरकारले पुनर्विचार गरोस्।’

उनले इम्बोस्ड नम्बर छिमेकी देशहरूमा भन्दा नेपालमा पाँच/छ गुणा महँगो भएको गुनासो नागरिकहरूबाट आइरहेको पनि बताए।

‘साउन १ भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे देखाइदिन्छु भनेर जुन किसिमले धम्की दिएको छ, धम्कीको भाषा गलत छ खारेज गर्नुपर्छ। तत्काल पुनरावलोकन होस्,’ उनले भने, ‘पूर्वाधार तयार गरियोस्, नागरिकलाई सास्ती नहोस्। जनशक्ति थपियोस्।’

नामकरण टुंगिएको प्रदेशमा गत मंसिर महिनादेखि इम्बोस्ड नम्बर प्लेट लागु गर्ने गरिएको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा नै नगरी सरकारले १ साउनदेखि अनिवार्य गर्नेगरी जारी गरिएको सूचनाबारे पुनर्विचार गर्नुपर्ने उनको माग छ ।

समयमा काम नगर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका उनले जनतालाई सास्ती दिने काम भने बन्द गर्नुपर्ने बताए । जोडिएका एम्बोस्ड नम्बर प्लेट पनि गुणस्तरीय नरहेको भन्दै थापाले राष्ट्रिय सुरक्षाका लागि इम्बोस्ड नम्बर जडान गर्ने हो भने राज्यले पनि आर्थिकभार व्यहोर्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here