मणिपालका कर्मचारी धर्नामा, ४ महिनादेखि अस्पताल प्रशासनमा ताला

काठमाडौं २४ जेठ । पोखरास्थित मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी धर्नासहित आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले पाउनुपर्ने उपदान नपाएको, किरिया बिदा, सुत्केरी बिदा नदिएको भन्दै कर्मचारीले धर्ना दिएका हुन् ।

कर्मचारी युनियनका अध्यक्ष अमृत पौडेलले अस्पताल प्रशासनले आफ्नो माग पुरा नगरेको भन्दै गत बिहीबारदेखि धर्ना बसेको बताए ।

सन् २०१० मा व्यवस्थापन र कर्मचारी युनियनबीच भएको सम्झौता अनुसार कर्मचारीले उपदान पाइरहेकोमा २०७४ मा नयाँ ऐन आएको भन्दै कटौती गरेको थियो ।

ऐनमा व्यवस्थापन र कर्मचारी बीच भएको सम्झौता भने यथावत रहन्छ भनिएपनि अस्पतालले कर्मचारीको सुविधा कटौती गरेको हो ।

यसरी अस्पताल व्यवस्थापनले सो कार्यन्वयन नगर्दा प्रत्येक कर्मचारीलाई सवा लाख घाटा लाग्ने अध्यक्ष पौडेलले क्लाउड पत्रिकालाई बताए ।

त्यस्तै अस्पतालमा आवद्ध हुनासाथ अस्थायी कर्मचारीलाई स्थायी वा नियमित गर्ने भनिएपनि हालसम्म सो कार्यान्वयनमा नआएको समेत उनले बताए ।

अस्पतालमा हाल करीब १५० जना अस्थायी कर्मचारी छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले अस्पताललाई कर्मचारीसँग भएको सम्झौता कायम गर्न आदेशात्मक पत्र पठाएको थियो ।

तर त्यसको पनि अस्पताल व्यवस्थापनले बेवास्ता गरेको बताए । त्यस्तै श्रम कार्यालय पोखराले पनि अस्पताललाई पत्र पठाएको थियो ।

युनियनहरुले आफ्ना माग प्रशासनले सुन्नै नचाहेको भन्दै झन्डै ४ महिनादेखि अस्पताल प्रशासनमा ताला समेत लगाएका छन् ।

यसरी नयाँ व्यवस्थापनसहित नेपाली लगानीकर्ताले लिएको भनेपनि पुरानैबाट सञ्चालन भइरहेको देखिन्छ अध्यक्ष अमृत पौडेलले भने । कर्मचारी युनियनले जिल्ला प्रशासन कार्यालय कास्की र श्रम तथा रोजगार कार्यालय पोखरामासमेत निवेदन दिएका थिए ।

युनियनहरुले अहिले ओपिडी विहान ८ : ३० देखि १० बजेसम्म बन्द गरेको छ । सो समयमा आकस्मिक सेवाहरु भने सुचारु रहेका छन् । तर यस्तै, अवस्था रहे अस्पताल नै ठप्प पार्ने आन्दोलन गर्न बाध्य हुने कर्मचारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here