इम्बोस्ड नम्बर प्लेट जडानमा द्विविधा भएपछि विभागले माग्यो माफी, यी सवारीलाई अनिवार्य

काठमाडौं, २४ जेठ । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने विषयमा सर्वसाधारणदेखि संसदसम्म व्यापक आलोचना भएपछि यातायात व्यवस्था विभागले माफी मागेको छ ।

यही जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ सम्म सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने सूचना प्रकाशित गरेपछि तीव्र आलोचना भएको थियो।

सर्वसाधारमा गलत सन्देश गएपछि माफी मागेको हो ।

जेठ २० गते विभागले सूचना जारी गर्दै बागमती र गण्डकीमा आगामी साउन १ पछि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नुपर्ने र इम्बोस्ड नम्बर प्लेट जडान नगरेको पाइए कारबाहीको चेतावी दिएको थियो ।

तर आज लामो वक्तव्यसहित विभागले सूचनाको बुझाइमा द्विविधा उत्पन्न भएकाले स्पष्टीकरण दिएको हो। अहिले जारी गरेको सूचना ०७८ कात्तिकको सूचनाको निरन्तरता मात्र भएको विभागको भनाइ छ । जसअनुसार २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने सवारीमा, २०७८ फागुन १ गतेबाट नामसारी गरिएका सवारीसाधनमा र २०७९ जेठ १ गतेबाट नवीकरण गरिने सवारीसाधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उल्लेख छ ।

तत्कालीन अवस्थामा नाम टुंगो लागिसकेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी ५ प्रदेशका लागि यो व्यवस्था गरिएको थियो ।

‘यसअनुसार आगामी साउनदेखि २०७८ कात्तिकमा प्रकाशित सूचनाअनुसार अनिवार्य रुपमा जडान गर्नुपर्ने भनिएका प्रकृतिका सवारीसाधनमा त्यस्तो प्लेट जडान भए नभएको अनुगमन गरिने र अन्य सवारीको हकमा सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुले निर्धारण गरेको समयतालिकाअनुसार लटअनुसार सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दै सम्झौताको बाँकी समयमा २५ लाख सवारीमा यस्ता प्लेट जडान गर्ने भन्ने नै हो’, विभागले वक्तव्यमा स्पष्टीकरण दिएको छ, ‘यस विषयमा थप आशंका र द्विविधा नरहोस् भनी विभाग अनुरोध गर्दछ। समयमा पर्याप्त सूचना सम्प्रेषण हुन नसकेकोमा विभाग पुनः क्षमायाचना गर्दछ।’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here