नेपालमै पहिलोपटक विद्यालयमा सौन्दर्यकलाको पढाइ हुँदै

काठमाडौं । नेपालमौपहिलो पटक विद्यालय स्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि ११ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो ।

पाठ्यक्रम विकास केन्द्र, सौन्दर्य कला व्यवसायी संघ र पदमकन्या विद्यालयले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले विद्यालय शिक्षा समाप्त भएपश्चात छात्राहरु आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले सम्बन्धित निकायबाट अनुमति लिई सो विषयको पठनपाठन सुरु गरिएको बताइन् ।

उनले सौन्दर्यकला सुरु गर्ने पहिलो विद्यालयको रुपमा स्थापित हुन पाउँदा निकै आभारी भएको बताउँदै यसमा विशेष सहयोग पुर्‍याउने सौन्दर्य कला संघलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले आफूले सौन्दर्यकलालाई पाठयक्रममा समावेश गराउन निकै संघर्ष गरेको र अन्त्यत सफल भएको निकै खुशी भएकाे बताइन् ।

‘विद्यालय तथा विभिन्न निकायसँग पटक पटकको छलफल पछि अन्त्यत सौन्दर्यकला पाठ्यपुस्तकमा समावेश गरिएको छ, यो खुसीको विषय मात्र नभएर विशेष गरी छात्राहरुको लागि आफ्नो शिप प्रदर्शन गर्ने र आत्मनिर्भर हुने बाटो समेत हो,’ उनले भनिन् ।

यस क्षेत्रमा दशकौं बिताएकी श्रेष्ठले सौन्दर्य कलामा प्रवेश गरेको सुरुवाती दिनहरुमा आफू समाज र आफन्तबाटै अपहेलित हुनुपरकाले आगामी दिनमा कुनै महिला र छात्रालाई आत्मनिर्भरताको बाटो रोज्दा समस्या नआओस् भन्ने हेतुले आफू यसलाई स्थापित गरेरै छोड्ने अठोटमा अघि बढेको बताइन् ।

अनुहारको सजावट मात्रै सौन्दर्य नभएको बताउँदै उनले भनिन, ‘सौन्दर्य अनुहार सजावटको विषय मात्र नभएर यो ज्ञान हो, शास्त्र हो । सौन्दर्य अनुहार सजावट देखि लिएर स्वस्थ शरीर र व्यायमसँग पनि जोडिएको विषय हो ।’

नेपालमा सौन्दर्यकला स्थापित गर्ने प्रयास जारी रहेको र आगामी दिनहरुमा थप कार्यक्रम र अन्तक्रिया गर्दै यसलाई व्यवस्थित रुपमा अघि बढाउनेमा आफू लागी परिरहने उनले बताइन् ।

छलफलमा उपस्थित पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमलाले संघ र विद्यालयको यो प्रयास निकै फलदायी रहेको बताएका छन् । उनले यस विषय सम्बन्धि बनाइने थप योजना र कार्यक्रममा पाठठ्यक्रम विकास केन्द्रको पूर्ण सहयोग रहने बताए । उक्त छलफल कार्यक्रममा अभिभावकलगाएत विद्यार्थीको सहभागीता पनि रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here