बालेन र रामकुमारीको प्रशंसा गर्दै गगनले अघि सारे फोहोरको दीर्घकालीन व्यवस्थापनका ६ उपाय

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फोहोरको दीर्घकालीन समाधान र संकट आउन नदिन व्यवस्थापनका ६ उपाय अघि सरेका छन् ।

थापाले सामाजिक सञ्जालमा सहरी विकासमन्त्री रामकुमारी झाक्री र काठमाठौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहको प्रशंसा गर्दै व्यवस्थापनका ६ उपाय अघि सरेका हुन् ।

काठमाडौं उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर संकलन र व्यवस्थापन हुन थालेपछि थापाले मन्त्री झाक्री र मेयर शाहको प्रशंसा गरेका हुन्।

साथै, उनले फोहोरको दीर्घकालीन समाधान र संकट आउन नदिन तत्काल र तदारुकताका साथ काम गर्न विभिन्न ६ वटा उपाय समेत अघि सारेका छन्।

‘काठमाडौंबाट फोहोर उठ्न थालेको छ। यसका निम्ति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह र सहरी विकास मन्त्री रामकुमारी झाक्रीको निरन्तरको पहलकदमी प्रंशसनीय छ।

यस्ता छन् गगनले अघि सारेका उपाय :

१. सहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो। हरेक पटक संकट परेपछि यस्तो सम्झौता हुन्छ तर कार्यान्वयन हुँदैन। त्यसैले सम्झौता कार्यान्वयन नहुनेमा गहिरो आशंका व्याप्त छ। यो स्वाभाविक संशयलाई यो पटक सम्झौता अक्षरस: र भनेकै समय सिमा भित्र कार्यान्वयन गरेर चिर्नुपर्ने छ।

२. यसको लागि संघीय सरकारले गर्ने भनी निर्दिष्ट गरिएको काम यसपटक एक ठाँउमा पनि नचुकी भनिएकै समयभित्र गर्न सहरी विकास मन्त्रालयको निरन्तर तदारुकता जरुरी छ। सम्झौतामा लेखिएका केही काम सहरी विकास मन्त्रालयभन्दा अन्य मन्त्रालयको क्षेत्राधिकार भित्र पर्छ। ती मन्त्रालयले समयमा काम सम्पन्न गराउन कतिपय अवस्थामा प्रधानमन्त्री कार्यालयकै पहलकदमी चाहिन्छ। खासमा जग्गा अधिग्रहणको विषय यही आर्थिक वर्षमा टुंग्याउन पर्छ। कानुन बमोजिम तोकिएपछि मानसिव क्षतिपूर्ति दिन, यही आर्थिक वर्षको बजेटमा पुग्दो रकम विनियोजनको व्यवस्था प्रधानमन्त्रीले गर्न लगाउनै पर्छ।

३. संघीय सरकारको निश्चित समयभित्र गर्ने भनिएको कामको अनुगमन गर्न र आवश्यक पर्दा सहजीकरण समेत गर्न काठमाडौं, धादिङ र नुवाकोटका सांसदहरूको अनुगमन, सहजीकरण समिति प्रस्तावित गरेका छौं। यो समितिले हरेक हप्ता बैठक बसी सहमतिमा भएको प्रत्येक बुँदाको कार्यन्वयन भए/नभएको अनुगमन गर्नेछौँ, कहिँ अफ्ठ्यारो परेमा सहजीकरण गर्ने छौँ, काम नगर्ने निकायलाई झक्झकाएर काम गर्न बाध्य बनाउने छौँ। समस्या आएपछि तात्नेभन्दा समस्या नै आउन नदिने गरी काम गर्नु पर्ने छ।

४. काठमाडौं महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रको लागि गर्ने भनी निर्दिष्ट गरिएको काम समयभित्र सम्पन्न गर्ने नै छ। कतिपय विषय महानगरपालिकाको एकल क्षेत्राधिकार भन्दा बाहिरको विषय भएकाले अन्य सम्बन्धित निकायले का.म.न.पा. लाई सम्पूर्ण साथ दिनुपर्छ।

५. फोहोर पठाउने अन्य सम्पूर्ण स्थानीय तहले पनि का.म.न.पा.सँग निरन्तर समन्वय गरेर काम गर्न आवश्यक छ।

६. कामनपाले श्रावण १ गतेबाट स्रोतमै छुट्याइएको फोहोर मात्र संकलन गर्ने भनेको छ। सम्पूर्ण महानगरबासीहरूले साथ दिएर यो अभियानलाई सार्थक बनाउनु पर्छ। कामनपाका सबै वडाहरूले किन्तुपरन्तु केही नभनी यो अभियानलाई सफल बनाउन असार महिना भरी आफ्नो बडाभित्र नगरवासीलाई सु-सूचित गर्ने लगायतको सम्पूर्ण तयारी गर्नुपर्छ।

यसरी हामी प्रत्येकले आजैबाट, अहिल्यैबाट आ-आफ्नो जिम्मामा परेका काम गर्दै गयौं भने फेरि १७६ औं पटक सम्झौता गर्नुपर्ने अवस्था आउँदैन। काठमाडौं फोहोरको संकटबाट मुक्त हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here