एसीसी महिला टी–२०: नेपालको लगातार दोस्रो जित, कुवेत २५ रनले पराजित

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाको किन्रारा ओभलमा शनिबार भएको खेलमा कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

नेपालले दिएको १ सय ८ रनको विजयी लक्ष्यसहित ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२ रन बनाउन सक्यो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रन जोडिन् । यस्तै मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन बनाइन् ।

नेपालकी सीता राना मगरले २ तथा अश्मिना कर्माचार्य, संगीता राई र इन्दू बर्माले १–१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेटको क्षतिमा एक सय सात रन बनायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन् । उनले अविजित रहँदै २७ बलमा उक्त योगफल बनाएकी हुन् ।

यस्तै इन्दू बर्माले ३३ बलमा अविजित रहँदै २८ रन बनाइन् । ज्योती पाण्डेले १५, बिन्दू रावलले ११ रन बनाइन् ।

नेपालले सोमबार बहराइन र मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताका विजेता र उपविजेताले १७ औँ टी-२० एसियन कपमा स्थान पक्का गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here