शहरी विकास मन्त्रालयमा कार्यसम्पादन सम्झौता, जिम्मेवार भएर काम गर्न मन्त्री राईको निर्देशन

काठमाडाैं, ६ साउन । शहरी विकास मन्त्रालयले पनि आफ्नो मातहतका विभाग तथा आयोजनासँग कार्यसम्पादन सम्झौता गरेको छ ।

शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमा सचिव रमेशप्रसाद सिंहले शहरी विकास तथा भवन निर्माण विभाग, शहरी विकास महाशाखा, काठमाण्डौ उपत्यका बिकास प्राधिकरण, बागमती सुधार आयोजना, नगर बिकास कोष र मन्त्रालयकै प्रशासन महाशाखाका प्रमुखहरुसँग आइतवार मन्त्रालयमा कार्यसम्पादन सम्झौता गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणीराम गेलाल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद दवाडी, प्राधिकरणको जिल्ला आयुक्त दिलिप भण्डारी, बागमती सुधार आयोजना प्रमुख आशिष घिमिरे, नगर बिकास कोषका अध्यक्ष मणिराम महत, शहरी विकास महाशाखा प्रमुख सरिता मास्केसँग सचिव सिंहले छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गरे ।

सुशासन ऐन २०६४ अनुसार सरकारी कामलाई चुस्त दुरुस्त बनाई कार्यसम्पादन प्रभावकारी बनाउन हरेक मन्त्रालयले मातहतका विभाग तथा महाशाखाका प्रमुखसँग यस्तो सम्झौता गर्ने व्यवस्था छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईले कार्यसम्पादन सम्झौता अनुसार जिम्मेवारबोध भएर काम गर्न कर्मचारी निर्देशन दिए ।

मन्त्री राईले भने, ‘पदीय जिम्मेवारीबाट पन्छिन खोज्ने कर्मचारीलाई समेत अख्तियार दुरुपयोगमा कारवाही गरिने नयाँ व्यवस्था हुन लागेको छ, त्यसैले अव नतिजामूखी भएर काम गर्नुहोस होइन भने कारवाहीको भागीदार हुनुपर्ला ।’

कार्यसम्पादन सम्झौताले मन्त्रालयको कामलाई छिटो छरितो सम्पन गर्न सहयोग पुग्ने बताउदै मन्त्री राईले कुनैपनि नीतिगत समस्या भए आफुलाई जानकारी गराउन मातहतका कर्मचारीलाई आग्रह गरे ।

सुशान ऐनले आफुले पाएको जिम्मेवारी छिटो भन्दो छिटो कार्यान्वयनमा लैजाने दायित्व दिएकाले कार्यसम्पादनमा हुने ढिलासुस्तीलाई समेत मन्त्रालयले सुक्ष्म रुपमा मुल्याङकन गर्ने मन्त्री राईको भनाई छ ।

कार्यक्रममा शहरी सचिव सिंहले अहिले्सम्म गोप्य रुपमा कर्मचारीको मुल्याङन हुँदै आएको भन्दै कार्यसम्पादन सम्झौताले खुला रुपमा सवैको मुल्याङकन गर्ने प्रणालीको विकास गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here