अष्ट्रेलियाले जित्यो कमनवेल्थ महिला क्रिकेटको उपाधि, भारत पराजित

काठमाडौं । इंग्ल्याण्डको बर्मिङ्घममा जारी कमनवेल्थ गेम्सअन्तर्गत महिला क्रिकेटको स्वर्ण अस्ट्रेलियाले जितेको छ । गएराति सम्पन्न फाइनलमा भारतलाई ९ रनले हराउँदै उसले स्वर्णपदक जितेको हो ।

फाइनलमा १६२ रनको लक्ष्य पछ्याएको भारतले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान हर्मनप्रीत कौरले अर्धशतकीय पारी खेले पनि भारतलाई जित दिलाउन सकिनन् । उनले ४३ बलमा सात चौका र दुई छक्कासहित ६५ रन बनाइन् ।

जेमिमा रोड्रिगेजले ३३,दिप्ती शर्माले १३ र सफाली बर्माले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अस्ट्रेलियाका लागि एश्ले गार्डनरले तीन, मेघ स्कटले दुई तथा डार्सी ब्राउन र जेस जोनासेनले एक/एक विकेट लिए।

यो सँगै बेलायतमा जारी कमनवेल्थ गेम्समा अष्ट्रेलियाले ६६ स्वर्ण, ५५ रजत र ५३ कास्यसहित सर्वाधिक १७४ पदक जित्दै शीर्ष स्थानमा छ।

आयोजक बेलायत ५५ स्वर्ण, ५९ रजत र ५२ कास्यसहित १६६ पदक जितेर दोस्रो तथा २६ स्वर्ण, ३१ रजत र ३४ कास्यसहित ९१ पदक जितेको क्यानडा तेस्रो स्थानमा छ।

यस्तै न्यूजिल्याण्ड १९ स्वर्ण, १२ रजत र १७ कास्यसहित चौथो स्थानमा रहँदा भारत १८ स्वर्ण, १५ रजत र २२ कास्यसहित कुल ५५ पदक जितेर तालिकाको पाँचौ स्थानमा छ।

स्कटल्याण्ड र नाइजेरियाले समान १२-१२ स्वर्ण जित्दा वेल्सले ८ तथा दक्षिण अफ्रिका र नर्दन आयरल्याण्डले ७-७ स्वर्ण जितेका छन्।

यस्तै अर्को लक्षिण एसियाली मुलुक पाकिस्तानले हालसम्म २ स्वर्ण, ३ रजत र ३ कास्यसहित ८ पदक जितेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here