फ्राइडे रिलिज: कृष्णलीला, प्रेमगञ्ज, माईकल अधिकारीबीच त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं । शुक्रवारदेखि तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । कृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘कृष्ण लीला’, ‘माईकल अधिकारी’ र ‘प्रेमगञ्ज’ले देशव्यापी प्रदर्शनमा आएका हुन् ।

एकसाथ तीन नेपाली चलचित्रको प्रतिस्पर्धा कोरोनापछिकै पहिलो हो । ‘कृष्णलीला’मा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ र रविन्द्र झाको मुख्य भूमिका छ ।

अटिजम प्रभावित युवकले महत्वाकाङ्क्षी र सामान्य स्वास्थ्य अवस्थाकी युवतीलाई एकोहोरो प्रेम गर्दा आउने घुम्ती र संघर्ष फिल्मको कथावस्तु हो ।

पुष्पले यसमा अटिजम प्रभावित युवकको चरित्र चित्रण गरेका छन् ।

सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘माईकल अधिकारी’ सरोगेसी (कोख भाडामा दिने)को कथामा निर्माण भएको हो ।

रञ्जित रौनियारको निर्देशनमा तयार चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका छ । सृष्टिले चलचित्रमा ‘सेरोगेट मदर’को भूमिका निर्वाह गरेकी छन् ।

गोपीकृष्ण मुभिज प्रोडक्सनको ब्यानरमा उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गरेका हुन् ।

चलचित्रमा सौगात र सृष्टिसँगै आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुवँर, हेमन्त बुढाथोकीलगायतको अभिनय छ ।

तेज गिरी र बेनिशा हमालको प्रमुख भूमिका रहेको ‘प्रेमगञ्ज’ले एकै व्यक्तिको दुई समयको प्रेमकथालाई प्रस्तुत गरेको छ ।

बैंकर रहेका तेजको ‘प्रेमगञ्ज’ डेब्यू चलचित्र हो । राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खड्काले पनि यसै चलचित्रमार्फत रजतपटमा डेब्यू गरेका हुन् ।

चलचित्रमा स्पटब्वाईका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।

चलचित्रमा नरेश पौड्याल, रश्मी भट्ट, गीता अधिकारी, संजोग रसाईली, पवन भट्टराई, बाल कलाकार आयुषी ढकाललगायतको पनि अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here