निरन्तर घट्दै गएको बैंकहरुको निक्षेपमा सुधार, साउनमा एक खर्ब ८ अर्ब बाहिरियो

काठमाडौं, ५ भदौ । असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेप साउन महिनाको अन्तिम साता भने सुधार आएको छ ।

नेपाल बैंकर्स संघका अनुसार साउनको अन्तिम सातामा निक्षेप १२ अर्ब र कर्जा लगानी २ अर्बले बढेको हो ।

असार ३१ गतेसम्म ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकल भएकोमा साउन ३१ गतेसम्म आइपुग्दा निक्षेप घटेर ४४ खर्ब ३३ अर्ब पुगेको छ ।

साउनको पहिलो साता ६४ अर्ब, साउन ६ गतेदेखि १३ गतेसम्म २८ अर्ब, साउन १३ गतेदेखि २० गतेसम्म ४ अर्ब र साउन २० गतेदेखि २७ गतेसम्मको अवधिमा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरूको निक्षेप घटेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार गत असार मसान्तको तुलनामा प्रणालीबाट १०८ अर्ब रुपैयाँ निक्षेप गायब छ।

त्यस्तै, समीक्षा अवधिमा बैंकहरुले ४१ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । अघिल्लो साता ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको यस्तो रकम २ अर्ब रुपैयाँले बढेको हो ।

गत असार अन्तिम सातामा पनि बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका थिए ।