काठमाडौं महानगर क्षेत्रका शिक्षक र कर्मचारीलाई तत्काल दलीय आवद्धता त्याग्न बालेनको निर्देशन

काठमाडौं, ८ भदौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले शिक्षक र कर्मचारीलाई दलीय आवद्धता त्याग्न निर्देशन दिएका छन्।

सार्वजनिक सूचना जारी गर्दै मेयर साहले महानगरपालिका अन्तर्गतका शिक्षक तथा कर्मचारीको दलीय आवद्धता भए तत्काल त्याग्न उनले निर्देशन दिएका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा सरकारी शिक्षक र कर्मचारीले दलको सदस्यता लिन नपाइँने व्यवस्था रहेको उल्लेख गर्दै मेयर साहले दलमा आवद्ध नहुन सचेत गराएका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था छ।

उक्त कानुन कार्यान्वयन गर्नका लागि अजित भण्डारीविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत भएको (मुद्दा नं. ०७८–ध्इ–०४०८) मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७९–२–४ मा परमादेशसमेत जारी भएको मेयर साहले स्पष्ट पारेका छन्।

काठमाण्डौ महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ ले पनि गरेको साहले अवगत गराएका छन्।

उक्त कानुनी व्यवस्था तथा सम्मानित उच्च अदालत पाटनको आदेशको परिपालना गर्नु गराउनु काठमाण्डौ महानगरपालिकाका साथसाथै प्रत्येक राजनीतिक दल, भ्रातृ संस्था वा सुभेच्छुक संस्था तथा महानगरपालिकाअन्तर्गतका शिक्षक तथा कर्मचारीको दायित्व रहेको मेयर साहले उल्लेख गरेका छन्।

‘काठमाण्डौ महानगरपालिकाको कार्यक्षेत्रभित्र सुशासन प्रवर्द्धन गर्नका लागि महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारी कुनै पनि राजनीतिक दल, भ्रातृ संस्था वा सुभेच्छुक संस्थाको सदस्य हुनु कानुनसम्मत हुँदैन’, उनले भनेका छन्।

तसर्थ, काठमाण्डौ महानगरपालिकाअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता दिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भ्रातृ संस्था वा सुभेच्छुक संस्थालाई मेयर साहले अपिल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here