नेप्सेको ओरालो यात्रा कायमै, धेरै गुमाउने फाइनान्स र हाइड्रो समूहका लगानीकर्ता

काठमाडौं, १२ भदौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक नेप्से ३३.३६ अंकले घटेर १९८९.२६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूह मध्ये सामूहिक लगानी कोष बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.७८ प्रतिशतले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूह पनि ३.४२ प्रतिशतले घटेको छ ।

उच्च अंकले घटेको शेयर बजारमा आज रुरु जलविद्युत्को मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

त्यसैगरी, अपर हेवाखोला ७.०३, मन्दकिनी हाइड्रोपावर ६.७७, नारायणी विकास बैंक ६.७१, बलेफी हाइड्रो ६.२९, अपर सोलु हाइड्रो, हिमालयन हाइड्रो, श्वेतगंगा, छ्याङ्दी हाइड्रोपार र गणपति लघुवित्तको शेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ ।

आज अरुण काबेलीको सर्वाधिक कारोबार भएको छ । यसको १० करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको ७ करोड १५ लाख र अपी पावरको ६ करोड २२ लाख बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here