एजेन्सी । यूएईमा जारी एसिया कप टी–२० प्रतियोगितामा भारतले विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत गएरातिको खेलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै भारतले विजयी सुरुवात गरेको हो ।
पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए ।
यस्तै हार्दिक पाण्डयले नट आउट ३३ रन बनाए । सूर्यकुमार यादव १८ रनमा आउट हुँदा कप्तान रोहित शर्माले १२ रन बनाए । केएल राहुलले खाता खोल्न सकेनन्।
जितको लागि अन्तिम ओभरमा ७ रन चाहिएकोमा पहिलो बलमै रवीन्द्र जडेजा आउट भएपछि भारत दवावमा थियो । तर हार्दिक पाण्ड्याले छक्का प्रहार गर्दै टिमलाई जिताए ।
बलिङ् तर्फ पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रन जोड्दा कप्तान बाबर आजम १० रनमा आउट भए । फखर जमान र शादब खान समान १० रन बनाएर आउट भए । शाहानवाज दाहानीले १६ रन जोडे भने हरिस राउफले अविजित १३ रन बनाए ।
बलिङ् तर्फ भारतका भुवनेश्वर कुमारले ४, हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए ।