शिवालयहरुमा तीजको रौनक, पशुपतिनाथ दर्शनका लागि चारवटै ढोका खुला

फाइलफोटो

काठमाडौं, १४ भदौं । आज हरितालिका तीजको मूख्य दिन । भाद्र शुक्ल तृतियाको दिन मनाइने यस चाडमा महिलाहरु आफ्नो श्रीमानको लामो आयु तथा सूस्वाथ्यको कामना गर्दै व्रत बस्ने प्रचलन रहेको छ ।

बुधबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ।

तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

व्रत मात्र बस्दैनन्, दिदिबहिनी आज नजिकको शिवालय पुग्छन, र भगवान शिवको पूजा आरधनामा लिप्त हुन्छन् ।

किंवदन्ती अनुसार भगवान शिवको सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्दै देवि पार्वतीले उपवास लिनु भएको दिनको सम्झनामा आज महिलाहरु पतिको लामो आयू माग्दै व्रत बस्ने गर्छन् ।

आज बिहानैदेखि देशभरका शिवालयमा महिलाको ठूलो घूँइचो छ । तीजको अवसरमा पशुपतिनाथ मन्दिरको चारवटै ढोका खुला गरिएको छ । बिहान सवा ३ बजेदेखि नै पशुपतिका चार वटै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिनाथको पूर्वी ढोका २०६५ सालपछि पहिलोपटक दिनभरिका लागि खोलिएको हो ।

यस वर्ष कोटेश्वर–तीनकुने (सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।

दोस्रो लाइन मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । तेस्रो लाइन गौशाला–पिङ्गलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ ।

चौथो लाइन गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । लाइनै पिच्छे स्वयम्सेवक परिचालन हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here