पतञ्जली र आइएमईबीच रेमिट्यान्स सम्झौता, भारतबाट पैसा पठाउन थप सजिलो

काठमाडौं । पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिट्यान्स साझेदारीसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार भारतमा बसोबास गर्ने लाखौँ नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आबद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन्।

सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन्। हरितालिका तीजका अवसरमा आयोजित एक विशेष कार्यक्रमबीच मंगलबार दिल्लीमा उक्त समझदारीपत्र आदानप्रदान भएको हो।

समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उनीहरुको परिवारका सदस्य वा नातेदारलाई पैसा पठाउनका लागि एक सुविधाजनक एवं सहज माध्यम थपिएको बताए।

श्रदेय आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गरे।

‘यो निर्वाध ग्राहक यात्राका लागि म आइएमई ग्रुपलाई धन्यवाद दिन चाहन्छु। साझेदारी घोषणा गर्न पाउँदा मलाई असाध्यै खुसी लागेको छ’, आचार्य बालकृष्णले भने, ‘नेपाली दाजुभाइ तथा दिदीबहिनीले हाम्रो पतञ्जली केन्द्रहरुमार्फत नेपालमा रहँदै आएका आफ्ना परिवार, आफन्त र इष्टमित्रहरूलाई पैसा पठाउन सक्नेछन्।’

कार्यक्रमलाई सम्बोधन गर्दै आचार्य बालकृष्णले नेपालका पतञ्जली केन्द्रबाट पनि रेमिट्यान्स सेवा प्राप्त गर्न सकिने बताए। बैंकको शाखा भ्रमणको बोझ एवं लामो आवेदन फारम भर्ने तनाव वा कुनै औपचारिकता पूरा नगरी यस्तो सेवा लिन सकिने आचार्य बालकृष्णले जानकारी दिए।

हरेक वर्ष हजारौँ नेपाली विभिन्न कारणले भारतका विभिन्न क्षेत्रमा प्रवेश गर्दछन्, जसमध्ये रोजगारी मुख्य कारण हो।

प्रत्येक भारतीय सहरमा पतञ्जली आयुर्वेदका आउटलेटहरु भएकाले तिनीहरु व्यापक रुपमा पहुँचयोग्य छन्। आउटलेटहरुमा सजिलो पहुँचका कारण भारतमा कार्यरत नेपालीले पैसा पठाउने सेवाहरु प्रयोग गर्न कुनै पनि स्थानहरुमा जान सक्छन्।

विदेशमा बसोबास गर्ने धेरै नेपालीले नेपालमा रेमिट्यान्स पठाउन आफ्नो मनपर्ने ब्रान्डका रुपमा आइएमईको प्रयोग गर्छन्। एक स्तरको विश्वासलाई कायम राख्न र बलियो बनाउन आइएमई इन्डियाले भारतको एक प्रतिष्ठित कम्पनी पतञ्जली आयुर्वेदसँग सहकार्य गरेको छ।

यस सहकार्यको फलस्वरुप भारतमा बसोबास गर्ने नेपालीले अब नेपालमा रहेका आफ्ना परिवारलाई सहज रुपमा पैसा पठाउन सक्नेछन् र पठाएको रकम नेपालका आफन्तले आफ्नो बैंक खाता वा मोबाइल वालेटमा तुरुन्तै प्राप्त गर्न सक्नेछन्।

नेपालभर विस्तारित सञ्जाल भएको आइएमई पे वा आइएमई एजेन्टहरुबाट रेमिट्यान्स प्राप्त गर्न सजिलो हुने विश्वास पतञ्जली आयुर्वेद र आइएमई इन्डिया लिएका छन्।

कार्यक्रममा राजदूत डा. शंकर शर्मा, पतञ्जली आयुर्वेद, पतञ्जली समूहद्वारा प्रवर्द्र्धित भरुवा सोलुसन प्रालिका उच्च पदस्थ कर्मचारी, आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइएमईका निर्देशक सचिन ढकाल, आइएमई इन्डियाका उच्च पदस्थ कर्मचारीलगायत भारतमा बसोबास गर्दै आएका नेपाली समुदायका सदस्यहरुको उल्लेख्य उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here