ऋषि पञ्चमीका दिन किन खाइन्छ कर्कलोको तरकारी ?

काठमाडौं । भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दु महिलाले सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् ।

महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । ऋषि पञ्चमीमा नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाएर एक छाक बस्नुपर्ने व्रतविधि छ ।

किन खाइन्छ कर्कलोको तरकारी

सामान्य तपाई हाम्रो गाउँघरमा पाइने तरकारी हो कर्कलो । यसको तरकारी कसैलाई मन पर्छ भने कसैलाई मन नपर्न सक्छ । यसको पात तथा फल दुवै तरकारीको रुपमा खान सकिने तरकारी हो कर्कलो ।

यसबाट प्रोटिन, पोटासियम, भिटामिन, आइरन लगाएतका तत्वहरु पाइने गर्दछ । हिन्दू नारीको ठूलो चाड तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन कर्कलोको तरकारी खाने प्रचलन छ ।

अघिल्लो दिन निराहार ब्रत बसेर पञ्चमीको दिन नदी किनारमा नुवाई–धुवाई गरेर पूजा अर्चना गरेपछि कर्कलोको तरकारीसँग खाना खाने गरिन्छ ।

ऋषिपञ्चमीका दिन कर्कलो नै खानुपर्ने नै भन्ने धार्मिक मान्यता छैन । यद्यपि, सुइरो भएर उम्रिएका कन्दमूल सेवन गर्दा राम्रो हुने कुरा शास्त्रमा उल्लेख छ ।

नुहाई–धुवाई र पूजाआजापछि शुद्ध कन्दमूल खाने मान्यताकै आधारमा कर्कलोको तरकारी खाने चलन सुरु भएको जानकारहरु बताउँछन् । धार्मिक मान्यतासँगै कर्कलोको तराकारी खानुका थुप्रै फाइदा छन् ।

चिकित्सकहरुका अनुसार कर्कलो खाने हो भने रक्त अल्पताबाट बच्न मद्दत पुग्छ । बाहिरका बट्टा र प्याकेटका कुहिएका खानेकुराभन्दा कर्कलो र पिँडालुको तरकारी प्रयोग गर्नु धेरै राम्रो हो ।

चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि कर्कलो खाने चलन छ । दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, जस्ता देशमा सुप बनाएर खाइन्छ । कतिपय ठाउँमा कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टा प्रयोग गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here