‘रञ्जन कोइरालाको फैसलामा गल्ती भएको छ, माफी माग्न तयार छु’- जबरा

काठमाडौं, १९ भदौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको बताएका छन् ।

आइतवार महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा जबराले आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।

श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराले ८ वर्षमा झारेका थिए । यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको उनको भनाइ छ ।

न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ । तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ । यो पारिवारिक मुद्दा हो । नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए । नाबालकहरूको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो ।

डीआईजी कोइरालाले झन्डै नाै वर्षअघि पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जङ्गलमा जलाएको पुष्टि भएपछि कोइरालालाई जिल्ला र उच्च अदालतले २० वर्ष कैद सजाय सुनाएका थिए ।

पत्नी हत्याको अपराध सावित भए पनि प्रधानन्यायाधीशसमेतको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए ।

तर फैसला गैरकानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएकोमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको इजलासले २० वर्ष नै कैद कायम गरिदिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here