दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि, अनलाइनबाट पनि काट्न सकिने

काठमाडौं, २२ भदौं । दशैँको लागि लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ असोज १ देखि खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज १ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

टिकट घरमा नै बसेर अनलाइनबाट पनि काट्न सकिने छ । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने/गराउने सहमति भएको छ ।

टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने निर्णय भएको छ ।

टिकट लिन र यात्रु छुट्ने स्थानमा सामुदायिक प्रहरी,ट्राफिक प्रहरी, विभागसहितको हेल्प डेस्क रहने छ।

यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिए तत्कालै कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। विभागले यसअघि असार २७ गते अन्तरप्रदेश भाडा समायोजन गरिसकेको छ। साेहीअनुसार भाडा लिनुपर्ने छ।

यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूणिर्मासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने र तर कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका आकार-प्रकारका सार्वजनिक सवारीहरुलाई भने सो बन्देज कायमै रहने गरी सहमति भएको छ ।

एकैपटक काठमाडौं छोड्नेको भीड बढ्ने भएकोले विगत केही वर्षदेखि दशैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here