निजीक्षेत्रको नाममा एडीबीसँग सहयोग माग्दै अर्थमन्त्री, एडीबी सकारात्मक

काठमाडौं, भदौ २४ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लभासासँग छलफल गरेका छन् ।

शुक्रबार लभासासँग कुराकानी गर्दै उनले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुग्ने बताए । निजीक्षेत्र नेपालको आर्थिक उन्नतिको इञ्जिन भएकाले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ, उनले भने ।

सन् २०२६ सम्ममा नेपाल अतिकम विकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने पनि उनको भनाइ छ । त्यस्तै नेपालले जलवायु परिबर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेको हुनाले हरित अमोनिया, हाइड्रोजन जस्ता बैकल्पिक ऊर्जा उद्योगमा सहयोग गर्न पनि उनले अनुरोध गरे ।

नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार क्षेत्रलगायतमा लगानी आवश्यक भएकोले एडीबीको सहयोगमा वृद्धि गर्न पनि अर्थमन्त्री शर्माले अनुरोध गरेका छन् ।

त्यसैगरी लाभासाले एडीबीले नेपालको सहयोगका लागि सधैं हातेमालो गर्ने बताए । निजीक्षेत्रको विकासमा सघाउने बारेमा आफू सकारात्मक रहेको र त्यसका लागि मुख्यालयमा छलफल गर्ने पनि उनले बताएका छन् ।

नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजधानीमा आयोजना गरेको चौथो पूर्वाधार सम्मेलन २०२२ मा सहभागी हुन लभासा नेपाल आएका हुन् । उनले बिहीबार सम्मेलनलाई सम्बोधन गरेका थिए जसमा उनले सार्वजनिक निजी साझेदारी (पीपीपी)को मोडलमा पूर्वाधार परियोजनाहरुको विकास गर्नुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here