खानेपानी ट्याङ्की परिसरका सीमा क्षेत्रका जग्गामा डोजर प्रयोग नगर्न आग्रह

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानीको ट्यांकी रहेकाे क्षेत्रमा डोजर प्रयोग नगर्न आग्रह गरेको छ ।

आरुबारीस्थित खानेपानी ट्यांकी रहेकाे सीमाको जग्गाधनीले डोजर प्रयोग गर्दा क्षति पुगेको भन्दै उक्त कार्य रोक्न आग्रह गरेको हो ।

केयूएलले मंगलवार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्यांकी परिसरका सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा ट्यांकीमा क्षति पुग्नेतर्फ सचेत गराइएको छ ।

ट्यांकीमा क्षति पुगेको अवस्थामा खानेपानी वितरण अवरुद्ध हुने भन्दै केयूकेएलले सम्बन्धित सबैमा त्यसो नगर्न आग्रह गरेको हो ।

आरुबारीमा रहेको ८५ लाख लिटर क्षमताको खानेपानी ट्यांकी रहेको क्षेत्रको सीमामा पर्ने जग्गामा जग्गाधनीले डोजर लगाई करिव ४ मिटर गहिराइमा खन्दा ट्यांकीको सुरक्षाका लागि निर्माण गरिएको आरसीसी पर्खाल भत्किन गई क्षति पुग्ने अवस्था सिर्जना भएको छ ।

केयूकेएलले आग्रहविपरीत डोजर लगाई खानेपानीका संरचनामा क्षति पुर्‍याउनेहरूले नै क्षतिको जिम्मेवारी लिनुपर्ने र क्षतिपूर्ति तिर्नुपर्ने पनि स्पष्ट पारेको छ ।

केयूकेएलले पछिल्लो समय विभिन्न स्थानमा थप पाँचवटा खानेपानी ट्यांकीको निर्माण गरिरहेको छ । तीनचुली महाङ्कालमा ८० लाख लिटर, न्यू महांकालमा १३ लाख, कीर्तिपुरमा ६० लाख, गोल्फुटारमा २ लाख १० हजार र बाँसबारी हेपाली हाइटमा १५ हजार लिटर क्षमताको खानेपानी ट्याङ्कीहरू निर्माण भइरहेको केयूकेएलले जनाएको छ ।

यसअघि, काठमाडौंका जगडोल आरुबारी, हेपाली हाइट, पानीपोखरी, बालाजु, टिगनी तथा न्यू महाङ्काल र भक्तपुरको कटुञ्जेमा खानेपानी ट्यांकीहरू निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here