चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कार अवार्डका लागि सिफारिस

काठमाडौं । सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डका लागि सिफारिसमा परेको छ ।

सोमबार बसेको नेपालको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिको बैठकले समितिलाई प्राप्त चलचित्र मध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई गत भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो।

नेपालबाट दिनेश राउत निर्देशित ‘प्रकाश’, सुवर्ण थापा निर्देशित ‘राधा’ र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।

समितिले प्राप्त सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय हो ।

नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ। समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन्।

उक्त निर्णयसँगै चलचित्रले अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९५औं संस्करणका लागि प्रतिस्पर्धा गर्न पाउनेछ ।

सन् २०२२ जनवरी १ देखि नोभेम्बर ३० सम्म हलमा चलेका चलचित्रले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धाको मौका पाउने प्रावधान छ । आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलस सहरमा ओस्कार अवार्ड समारोह हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here