काठमाडौं, ६ असोज । निर्वाचन आयोगले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।
जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका १ सय ६५ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो ।
आयोगले प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ। आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही असोज १२ र १३ गते निर्वाचनसम्बन्धी अभिमुखीकरणसमेत गरिने र यसबारे आयोगको वेबसाइटमा गई आवश्यक जानकारी लिन सकिने आयोगले जानकारी दिएको छ।