दशैंलक्षित सवारी साधनको रुट परमिट खुला

१० असोज, काठमाडौं । आजदेखि कोजाग्रत पूर्णिमासम्म दशैं लक्षित सवारी साधनका लागि देशभर रुट परमिट खुला भएको छ । गृह मन्त्रालयका अनुसार दशैँमा यात्रुको ओहोरदोहोरलाई सहज बनाउन रुट परमिट खुला गरिएको हो ।

एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको मन्त्रालयले जनाएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने हुँदा परीक्षणमा कडाइ गरिएको हो ।

यान्त्रिक परीक्षण विना काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा मध्यम दूरीका कुनै पनि गाडी चलाउन नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । काठमाडौंसँग नाका जोडिएका सबै नाकामा गाडीको यान्त्रिक परीक्षण गर्न भनिएको छ ।

यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित गाडीको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको समन्वयमा हुनेछ । बीमा नभएका गाडी दुर्घटना भएमा क्षतिपूर्ति दिन कठिनाइ हुने तथा यान्त्रिक परीक्षण नभएका गाडी दुर्घटनामा पर्ने जोखिम रहेकाले यस्ता गाडीले रुट परमिट नपाउने पनि गृह मन्त्रालयले जनाएको छ ।

उपत्यकामा दशैँका बेलामा सडक खाली हुँदा चालकले तीव्र गतिमा गाडी चलाउने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता प्रवृत्ति देखिएकाले थप सुरक्षा जाँच गर्न लागिएको कार्यालयले जनाएको छ ।

यस्तै, आजदेखि छतमा यात्रा गर्न नदिन, सिट क्षमताभन्दा बढी यात्रु राख्न नदिन र चालकले जाँडरक्सी खाएर गाडी चलाएको छरछैन भनेर कडाइका साथ जाँच हुँदैछ । यस्तै, यात्राका क्रममा कुनै समस्या परेमा प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा फोन गरेर गुनासो टिपाउन यात्रुलाई प्रहरीको अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here