डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, संक्रमणबाट धेरै प्रभावित बागमती प्रदेश

काठमाडौं, १३ असोज । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामा नै डेंगु फेला परेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित बागमती प्रदेश रहेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।

यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म ३८ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजीले जनाएको छ।

संक्रमितको सख्या २८ हजार १०९ जना पुगेको छ । डेंगुले निकै ठूलो रुप लिँदा पनि काठमाडौंको स्थानीय तहका जनप्रतिनिधिहरु नियन्त्रणमा गम्भीर हुन नसकेको गुनासो स्वास्थ्य कार्यालयले गरेको छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here