दशैं अवधिभर यी प्रदेशमा व्यापक वर्षाको सम्भावना (विशेष मनसुन बुलेटिनसहित)

काठमाडौं । यस वर्षको दसैंमा देशका विभिन्न चारवटा प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १९ गते विजया दशमीदेखि २१ गते द्वादशीसम्म लुम्बिनी, गण्डकी, कर्णाली र सूदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दसैंका लागि विशेष मनसुन बुलेटिन प्रकाशित गर्दै उक्त जानकारी दिएको हो।

शाखाका अनुसार नेपालमा मनसुन सरदर अक्टोबर २ बाहिरिने भएतापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको छ।

हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा असोज १८ गतेदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावनादेखिएको छ।

आउँदो मंगलबार नवमीमा देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार विजया दशमीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

बिहीबार एकादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार द्वादशीमा देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

यी दिनहरूमा देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here