दशैंअघि सकिनुपर्ने मनसुन बाहिरिन ढिलाइ, नहट्ने भयो हिलो-मैलो

काठमाडौं । दशैंअघि सकिनुपर्ने मनसुन यस वर्ष दसैं लागिसक्दा पनि सकिएको छैन। जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार मनसुन एक साता धकेलिने भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम-मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा असोज १८ गते नवमीबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो।

महाशाखाका अनुसार विजया दशमी, एकादशी र द्वादशीका दिन मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ।
१८ गते नवमीका दिन देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज १९ गते विजय दशमीका दिन देशभर बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। असोज २० गते एकादशीका दिन पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

२१ असोजमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँ र बाँकी प्रदेशका केही क्षेत्रमा वर्षा हुनेछ। यी प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको सम्भावना रहेको महाशाखा जनाएको छ।