काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ।
मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो ।
आयोगले २०७४ को निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ प्रतिउम्मेदवार २५ लाख रुपैयाँ खर्च सीमा तोकेको थियो यस पटक निर्वाचन क्षेत्र अनुसार फरक फरक छ।
यसपालि प्रतिनिधिसभा सदस्यतर्फ ५ वटा निर्वाचन क्षेत्रमा २५ लाख रुपैयाँ, १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख रुपैयाँ, ६५ वटा निर्वाचन क्षेत्रमा २९ लाख रुपैयाँ, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख रुपैयाँ र २६ वटा निर्वाचन क्षेत्रमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकिएको छ।
प्रदेशसभा सदस्यतर्फ ७० वटा निर्वाचन क्षेत्रमा १५ लाख रुपैयाँ, १४३ वटा निर्वाचन क्षेत्रमा १७ लाख रुपैयाँ र ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख रुपैयाँ खर्चको सीमा तोकिएको छ। २९ वटा निर्वाचन क्षेत्रमा २१ लाख रुपैयाँ र ३२ वटा निर्वाचन क्षेत्रमा २३ लाख रुपैयाँ तोकिएको छ।
आगामी निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले ८ शीर्षकमा मात्रै खर्च गर्न पाउने भएका छन्।
निर्वाचन आयोगका अनुसार मतदाता नामावली खरिद, प्रचारप्रसार सामग्री, गोष्ठी अन्तरक्रिया, सवारीसाधन, प्रचार सामग्री ढुवानी, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जाल समेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन शीर्षकमा उम्मेदवारले खर्च गर्न पाउनेछन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को प्रतिकूल नहुने गरी उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको लागि आयोगले तोकेको खर्चको अधिकतम हदभित्र रही खर्च गर्न पाउँछन्।




















