नेपाली एयरलाइन्सलाई चीनका १५ विमानस्थल खुला, सातामा ९८ उडान

काठमाडौं, १० साउन । नेपाल र चीन बीचको द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन भएसँगै नेपाली एयरलाइन्सले चीनका १५ वटा विमानस्थलमा उडान गर्न पाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहचिव सुरेश आचार्यको नेतृत्वमा गएको नेपाली टोलीले बेइजिङमा विहीबार र शुक्रबार वार्ता गरे पछि शुक्रबार उक्त सम्झौता पुनरावलोकन गरेको हो ।

त्यस्तै दुई देशबीच उडान संख्या पनि बढाएर सातामा ९८ उडान भर्न पाउने व्यवस्था मिलाइएको छ। यसअघि दुवै देशले सातामा ७० वटा उडान गर्न पाउने व्यवस्था रहेको थियो ।

सम्झाैतापत्रमा नेपालकाे तर्फबाट सहसचिव आचार्य र चीनकाे तर्फबाट चिनियाँ उड्ययन प्रशासनकी नायव महानिर्देशक बाइ वेन्लीले हस्ताक्षर गरिन् ।

हाल चिनियाँ एयरलाइन्सले नेपालमा ७० उडान गरीरहेकाले थपिएका २८ उडान गौतमबुद्ध र पोखरा विमानस्थलमा गर्नुपर्नेछ ।

नेपाली एयरलाइन्सले भने यसअघि अनुमति प्राप्त ७ वटा विमानस्थलसहित थप ८ वटा विमानस्थलमा उडान गर्न पाउने व्यवस्था सम्झौतामा रहेको बताइएको छ । नेपाली एयरलाइन्सले यसअघि बेइजिङ, सांघाइ, कुनमिङ, ल्हासा, छेन्दु, सियान, ग्वान्झाउ विमानस्थलमा उडानकाे अनुमति पाउने सम्झाैता थियाे ।

हाल नेपालमा पाँचवटा चिनियाँ एयरलाइन्सले उडान भर्दै आएका छन् । नेपाली एयरलाइन्सले भने हाल चीन उडान गरेका छैनन् ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले चीन उडानको योजना बनाएका छन् । दुवै एयरलाइन्सले सुरुमा चीनको ग्वान्जाओ र पछि बेइजिङमा उडान गर्ने योजना अनुसार अनुमतिको पर्खाइमा रहेको छ ।

यस सम्बन्धमा चीनले सहयाेगकाे प्रतिवद्धता समेत व्यक्त गरेकाे बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here