चुनावले उचाल्यो सरकारी खर्च, विकास खर्चमा झिनो सुधार

काठमाडौं, २४ असोज । सरकारले गर्ने विकास खर्चमा गतवर्षको तुलनामा यो वर्ष झिनो सुधार भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज २३ गते आइतवारसम्ममा कुल विकास बजेटको ४.८७ प्रतिशत खर्च भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा रु. ३ खर्ब ८० अर्ब ३८ करोड विकास खर्चका लागि छुट्याएका थिए । त्यसमध्ये पहिलो तीन महिनाको समाप्ति हुनै लाग्दामात्र रु. १८ अर्ब ५४ करोड मात्र खर्च भएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा यो वर्षको भन्दा पनि कम ३.०८ प्रतिशत मात्र पुँजीगत खर्च भएको थियो । गतवर्ष रु. ३ खर्ब ७८ अर्ब ९ करोड विकास खर्च छुट्याएकोमा असोज २३ गतेसम्म रु. ११ अर्ब ६४ करोड मात्र खर्च हुन सकेको थियो ।

रोचक कुरा के छ भने कुल सरकारी खर्च गतवर्ष र यो वर्ष लगभग बराबरजस्तै रहेको छ यद्यपि बजेटको आकार भने यो वर्ष बढी छ ।

यो वर्षको कुल बजेट रु. १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँमध्ये रु. २ खर्ब ४४ अर्ब ९९ करोड खर्च भएको छ भने गतवर्ष भने रु. १६ खर्ब ३२ अर्ब ८२ करोडमा रु. २ खर्ब २६ अर्ब ७ करोड खर्च भएको थियो ।

गत वर्षको खर्च कुल बजेटको १३.६६ प्रतिशत हो भने यो वर्षको १३.८५ प्रतिशत हो ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि भइरहेको तयारीका कारण सरकारको चालु र विकास खर्चमा सुधार भएको विज्ञहरुको भनाइ छ । यद्यपि यो खर्च अपेक्षितभन्दा कम हो ।

यसैवीच, सरकारको राजस्व संकलन भने यो वर्ष कमजोर देखिएको छ । गतवर्ष कुल लक्ष्य र.११ खर्ब ८० अर्ब ६० करोडको १९ प्रतिशतभन्दा बढी राजस्व संकलन भएकोमा यो वर्ष असोजको तेस्रो साता सकिंदा सम्म रु. १४ खर्ब ३ अर्ब १४ करोडको लक्ष्यमा १२.२७ प्रतिशतमात्र प्रगति देखिएको छ ।

सो अवधिमा यो वर्ष मात्र १२ प्रतिशत कर राजस्व उठेको छ जबकी गतवर्ष १९.३२ प्रतिशत कर राजस्व उठेको थियो । गत वर्ष रु. २२ खर्ब ७५ अर्ब ६६ करोड राजस्व उठेकोमा चालु वर्षमा रु. १७ खर्ब २० अर्ब ९६ करोड संकलन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here