एनआईसीसीआईले नेपाल र इटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने

काठमाडौं । नेपाल–इटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ।

बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको थियो। एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व भएको बैठकमा नेपाल र भारतका लागि इटालीका राजदूत भिन्सेन्जो डे लुका, इटालीका लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, इटालीका लागि दिल्लीका महावाणिज्य दूत र इटालीका लागि नेपालका महावाणिज्य दूत प्रतिमा राणा पाण्डेको उपस्थिति थियो। एनआईसीसीआईका मानार्थ सदस्य राजेश काजी श्रेष्ठ विशेष अतिथिका रुपमा उपस्थित हुनुका साथै एनआईसीसीआईका अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरु बैठकमा उपस्थित थिए।

इटालियन राजदूत भन्सेन्जो डे लुकाले भने, ‘इटालियन दूतावासले इटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरुको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ। हामीले इटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवर्द्धन गर्न विभिन्न परियोजनाहरु आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि इटालीमा प्रचार प्रवर्द्धन गर्ने योजना बनाएका छौँ।’

लुकाले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु इटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताए।

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘नेपाल–इटाली उद्योग बाणिज्य संघ(एनआईसीसीआई) ले २०३० मा रोममा हुन गइरहेको ‘ग्रान्ड इन्टरनेसनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको छ। जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासका लागि डिजिटल कनेक्टिभिटीजस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिइएको छ। एनआईसीसीआईले आगामी मार्च २०२३ मा इटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ।’

नेपाल र इटाली साँस्कृतिक रुपमा धनी छन् र एकआपसमा आफ्ना सँस्कृति आदानप्रदान गर्दै आइरहेका छन्। सन् २०१५ मा नेपालमा गएको भूकम्प पछि इटाली र नेपालको सम्बन्धमा नयाँ आयाम थपिएको छ। जसमा नेपालका लागि इटालीले आर्थिक सहयोग जुटाएको थियो। यो बैठकले नेपाललाई इटालीमा नेपालको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ। साथै, इटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here