डेंगु संक्रमितको संख्या ४१ हजार नाघ्यो, ४९ जनाको मृत्यु

काठमाडौं, १ कात्तिक । नेपालमा डेंगु संक्रमितको संख्या ४१ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७१४ डेंगुका बिरामी थपिएपछि संक्रमितको संख्या ४१ हजार ७४३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म डेंगुका कारण ४९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ । नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here