सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Photo : Gorakhapatra

काठमाडौं, २ कात्तिक । सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो ।

लामिछानेलाई म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।

नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो तेस्रो पटक म्याद थपिएको हो।

पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।

विमानस्थलबाट उत्रिने वित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीको जिम्मा लगाएको थियो। त्यसपछि विमानस्थल प्रहरीले महानगरीय प्रहरी वृत गौशालालाई बुझाएको हो।

भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here