डेंगु संक्रमितको संख्या ४६ हजार नाघ्यो, जोखिम कात्तिक महिनाभर कायमै रहने

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या ४६ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको अनुसार नेपालमा डेंगु संक्रमितको संख्या ४६ हजार ४१३ जना पुगेको छ । डेंगु ७७ जिल्लामै फैलिएको छ भने हालसम्म डेंगुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रभावित १० जिल्लामा क्रमशःकाठमाडौं, ललितपुर, मकवानपुर, भक्तपुर, दाङ, चितवन, रुपन्देही, धादिङ, काभ्रेपलाञ्चोक र सुर्खेत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यो महिनाभरि डेंगुको जोखिम कायमै रहने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् । चिसो बढेसँगै सङ्क्रमितको सख्या घटे पनि जोखिम टरिनसकेको विज्ञहरुको भनाइ छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here