काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोले पहिलो जित हात पारेको छ । अल थुमामा स्टेडियममा आइतबार सम्पन्न समूह ‘एफ’ अन्तर्गतको खेलमा मोरक्कोले बेल्जियमलाई २-० ले पराजित गरेको हो ।
मोरक्कोलाई महत्वपूर्ण जित दिलाउन अब्देलहमिद साबिरी र जाकारिया अबोखलालले एक-एक गोल गरे । पहिलो खेलमा क्यानडालाई १–० ले पराजित गरेको बेल्जियले समूह चरणको अन्तिम खेलमा साविक उपविजेता क्रोएसियाको सामना गर्नेछ।
पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको मोरक्कोले क्यानडाको सामना गर्नेछ।
आइतबार नै भएको समूह ‘ई’को खेलमा जापान कोस्टारिकासँग १–० गोलको नतिजामा पराजित भएको थियो।























