काठमाडाैं, १५ साउन । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई पुँजीगत लाभकर गणनाको विवाद मिलाउन निर्देशन दिएको छ । धितोपत्र बोर्ड, नेप्से, सीडीएस, आन्तरिक राजस्व विभाग, लगानीकर्ता संघ/संस्थाका प्रतिधिनि सम्मिलित बैठकमा बुधबार अर्थमन्त्रालयले बोर्डलाई उक्त निर्देशन दिएको हो ।
निर्देशन पछि बोर्डले आफ्नो सञ्चालक समितिको बैठकबाट निर्णय पारित गराइ लागु गर्नुपर्ने छ । यसबारेमा बोर्डमा सम्पर्क गर्दा छलफल अझै टुङगिनसकेको बताइएको छ । स्रोतले भन्यो, ‘अर्थले बोर्डलाई जिम्मा दिएको हो, तर अन्तिम निर्णय गर्न बाँकी छ ।’
लगानीकर्ताहरुले भने यो विवाद टुङगिएको बताएका छन । उनीहरुका अनुसार बोर्डले ०५८ साल देखि ०७६ असारसम्मको मूल्यको भारित औसत मूल्य तय गर्ने छ ।
‘अर्थले बोर्डलाई यही निर्देशन दिएको छ,’ नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन । ‘गल्ति बोर्डकै रहेछ, आजसम्म सञ्चालक समितिमा लगेकै रहेनछ, बुधबार नै विवाद टुङग्याउन अर्थले बोर्डलाई निर्देशन दिएको छ,’ उनले थपिन ।
विवाद कसरी मिलाउने भनेर विभिन्न विषयमा छलफल भए पनि अन्तिम निणर्य बोर्डकै हुनेछ ।