विश्वकप फुटबल: नकआउट चरण समीकरण पुरा, कुन टिमको भिडन्त को सँग ?

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट समीकरण पुरा भएको छ।

शुक्रबार समूह ‘जि’ र ‘एच’ को खेलसँगै जारी संस्करणमा अन्तिम १६ मा पुग्ने सबै टिमको तय भएको हो।

प्रतियोगितामा फिफाले ३२ टिमलाई ८ समूहमा विभाजन गरेको थियो। जहाँबाट हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन्।

युरोपबाट सर्वाधिक ८ राष्ट्र नकआउट चरणमा प्रवेश गर्दा एसियाबाट ३, दक्षिण अमेरिका र अफ्रिकाबाट २/२ दुई तथा उत्तर अमेरिकाबाट एक टिम छन् ।

कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुग्दा समूह ‘बी’ बाट इंग्ल्यान्ड विजेता र अमेरिका उपविजेता बने।

त्यस्तै समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरे।

त्यस्तै समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता, समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल रहे।

अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इंग्ल्यान्ड र सेनेगल, जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुँदै छ।

मंसिर १७ गते शनिबार समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता (राति ८ः४५ बजे) नेदरल्याण्ड्स विरुद्ध अमेरिकाले खेल्नेछ । 

समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेताअर्जेन्टिना विरुद्ध अष्ट्रेलियाको खेल राति १२ः४५ मा हुने छ ।

मंसिर १८ गते आइतबार समूह ‘बी’ को विजेता इंग्ल्याण्ड भर्सेस समूह ‘ए’ को उपविजेता सेनेगलबीचको खेल राति १२ः४५ मा हुने तालिका छ । समूह ‘डी’ को विजेता फ्रान्स भर्सेस समूह ‘सी’ को उपविजेता पोल्याण्डले सोही दिन राति ८ः४५ मा खेल्नेछन् । 

त्यस्तै मंसिर १९ गते सोमबार समूह ‘ई’ को विजेता जापान भर्सेस समूह ‘एफ’ को उपविजेता क्रोएसियाले राति ८ः४५ मा खेल्नेछन् । समूह ‘जी’ को विजेता ब्राजिल भर्सेस समूह ‘एच’ को उपविजेता दक्षिण कोरियाबीच राति १२ः४५ मा प्रतिस्पर्धा हुनेछ । 

मंसिर २० गते मंगलबार समूह ‘एफ’ को विजेता मोरक्को र समूह ‘ई’ को उपविजेता भर्सेस स्पेनले राति ८ः४५ मा खेल्दा समूह ‘एच’ को विजेता पोर्चुगल र समूह ‘जी’ को उपविजेता स्वीटजरल्याण्डले राति १२ः४५ मा खेल्नेछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here