धेरै धुवा फाल्ने गाडीलाई एक लाखसम्म जरिवाना, खुला रुपमा फोहोर जलाए कारबाही

काठमाडौं, २२ मंसिर । वातावरण विभागले धेरै धुवाँ फाल्ने गाडीलाई पुस १ गतेबाट एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ।

विभागले बिहीबार सूचना प्रकाशित गरी गाडीको धुवाँले काठमाडौंमा वायु प्रदूषण बढाएको जनाएको छ। वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुल्ला रुपमा जलाउने फोहर रहेको भन्दै गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको छ ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ ।

अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउने समेत जनाएको छ ।

वायु प्रदूषण रोक्न धेरै धुवाँ फाल्ने सवारी साधनलाई कारबाही गर्न लागेको हो। विभागले जारी गरेको सूचनामा पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाच पास हुन नसक्ने सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ।

यससँगै विभागले छड्के जाचका क्रममा कतिपय सवारी साधनले मापदण्ड पूरा नगरेको पाइएको जनाएको छ। कतिपय सवारी साधनमा अत्यधिक धुवाँ निस्कने गरेको देखिएको छ।

त्यस्तै, विभागले खुल्ला रुपमा फोहोर नजलाउन पनि आग्रह गरेको छ। कसैले फोहोर जलाएको देखेमा विभागलाई जानकारी दिन भनिएको छ। यसरी जानकारी दिनको नाम गोप्य राखिने र फोहोर जलाउने व्यक्तिलाई कारबाही गरिने विभागको सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here