विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड देखाउने रेफ्रीलाई फिफाले घर फर्कायो

काठमाडौं । विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड विवादित बनेको स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजले बाँकी खेलमा जिम्मेवारी नपाउने भएका छन् । विश्व एन्टोनियोको चर्को आलोचना भएपछि फुटबल महासघं (फिफा) ले उक्त निर्णय लिएको हो ।

कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल खेलाउने क्रममा रेफ्री एन्टोनियोले खेलाडी र अफिसियललाई गरी खेल अवधिभर १७ वटा पहेँलो र नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजलाई दोहोरो पहेँलो (एक रातो कार्ड) देखाएका थिए ।

रेफ्रीको निर्णयको विषयमा खेलपछि अर्जेन्टिना र नेदरल्यान्ड्स दुवै पक्षले आलोचना गरेका थिए ।

विवादमा परेका एन्टोनियोलाई फिफाले बाँकी जिम्मेवारीबाट अलग गरेपछि उनी स्पेन फर्किएका छन् ।

फिफा विश्वकपमा १८ पहेँलो कार्ड देखाइएको पहिलो पटक हो । यसअघि सन् २००६ को पोर्चुगल र नेदरल्यान्ड्सबीचको प्रिक्वार्टरफाइनल खेलमा चार रातोसहित १६ वटा कार्ड देखाइएको थियो ।

यसैगरी फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा दुवै टोलीले विपक्षीमाथि प्रस्तुत गरेको खराब व्यवहारका कारण अनुशासनसम्बन्धी कारबाही गर्ने पनि जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here