मापदण्ड विपरीतका साइन बोर्ड हटाउन काठमाडौं महानगरको १५ दिने ‘अल्टिमेटम’

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको मापदण्ड विपरीतका साइनबोर्ड (परिचय पार्टी) हटाउन निर्देशन दिएको छ।

महानगरपालिकाले मंगलवार एक सूचना जारी गर्दै १५ दिनभित्र उक्त बोर्ड हटाउन आग्रह गरेको हो। आफ्नो व्यवसाय वा कार्यालय परिसरमा राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न र राखेको भएमा हटाउन आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाले शहरको सौन्दर्य बढाउन भन्दै होर्डिङ्ग बोर्डसँगै साइन बोर्ड पनि हटाउने अभियान थालेको छ

व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन पटक पटक आग्रह गरिएकोमा अटेर गरी राखेको पाइएको समेत महानगरले जनाएको छ ।

साथै महानगरपालिका क्षेत्रमा व्यवसाय वा कार्यालयले परिचय पाटी राख्दा वार्षिक रूपमा रकम बुझाउनुपर्ने र त्यसको दररेट पनि उल्लेख गरेको छ ।

६ वर्ग फुटसम्मको एउटा मात्र साइन बोर्ड राख्दा वार्षिक ५ सय, १५ वर्ग फुटसम्म एक साइन बोर्ड राख्न पाइने र त्यसको एक हजार ५ सय तथा १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको प्रति वर्ग फुट एक वटा मात्र राख्न पाइने र त्यसमा प्रति वर्ग फुटको एक हजार लाग्नेछ ।

१६ वर्ग फुटको १६ हजार, १७ वर्ग फुटको १७ हजार गरी क्रमशः वर्ग फुट अनुसार शुल्क तिर्नुपर्नेछ । त्यस्तै ३० वर्ग फुटको ३० हजार रुपैयाँ वार्षिक रुपमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

सूचनालाई अवज्ञा गरी सम्बन्धित पक्षले त्यस्ता परिचय पाटी नहटाएमा महानगरपालिकाको टोलीले हटाइ त्यसबापत लागेको खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गर्ने चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here