‘फरक स्वरुपमा कोरोना संक्रमणको जोखिम देखियो, अनिवार्य मास्क लगाउनू’- स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिन सक्ने भन्दै सावधानी अपनाउन आगह गरेको छ।

केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेश बिन्दुका हेल्थ डेस्कहरुले तथा स्वास्थ संस्थाहरुले आवश्यक तयारी थाल्न पनि आग्रह गरेको छ।

मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं।’

पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन्। ‘केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानि बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ मन्त्रालयले भनेको छ।

मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट बीए–२, बीए २.७५, बीए २.७५.१, बीए २.७५.२, बीए २.७५.३, बीए २.७५.५, बीए २.७५.६, बीए.२.७६, बीए.५.२, बीए.५.२.१,बी.एम.१, बिएम १.१.३, बिएन १.३,बी क्यूब १.१,बिक्यूव १.२, बि.वाइ.१ पुष्टि भएका छन्।

तर पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको बि.एफ. ७ भने हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here