खर्च घटाउन अर्थमन्त्रालयको विभिन्न योजना, बोतलको पानी विस्थापित

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ।

अर्थमन्त्रालयमा कार्यान्वयनमा ल्याउनको लागि आन्तरिक नियन्त्रण समितिले यो मापदण्ड तयार पारेर प्रस्ताव गरेको हो। यसअनुसार अर्थमन्त्रालयले करिब नौ करोड ५७ लाख १६ हजार रूपैयाँ जोगिने देखिएको छ।

नयाँ मापदण्डमा बोतलको पानी विस्थापित गरी जारको पानीमात्र प्रयोग गर्न भनिएको छ। यस्तै अनावश्यक रूपमा हिटर, पंखा पनि नचलाउने भएको छ। बजेट निर्माणमा अतिरिक्त खटेका कर्मचारीको भत्ता समेत घटाइएको छ।

यस्तै अति आवश्यकबाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरुत्साहित गर्ने, दुईपांग्रे र चार पांग्रे सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल र लुब्रिकेन्ट फेर्न अर्थले निर्देशन दिएको छ।

अति आवश्यकदेखि बाहेक थोरै र पटके रूपमा प्रयोग हुने सामान स्टक नराख्ने, मन्त्रालयले नियमितरूपमा छाप्ने बजेटसम्बन्धी पुस्तक वा अन्य पुस्तकहरू कम गरी वेबसाइटमा राखिने भएको छ।

यस्तै, खर्च घटाउनका लागि अति आवश्यक बाहेकका सेमिनार, तालिम गोष्ठी नगर्ने, गर्नैपर्ने भए मन्त्रालयको कार्यकक्ष वा सरकारी निकायका भवनहरू प्रयोग गरिने छ।

स्वीकृत कार्यक्रमहरू पुनरावलोकन गरी नगर्दा पनि हुने कार्यक्रम हाललाई स्थगित गर्ने, बजेट निर्माणको समयमा अतिरिक्त समयमा काम गरे बापत दिइँदै आएको सुविधा नदिने, यदि दिनैपर्ने भए ५० प्रतिशत मात्र दिने व्यवस्था गरिएको छ।

अति आवश्यक विना एसी, हिटर र पङ्खाको प्रयोग नगर्ने, बोतलको पानीलाई निरुत्साहित गर्ने, कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गर्ने, स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको भन्दा बाहेक करार तथा ज्यालादारीमा कामकाज नलगाउने र बैठकहरू कार्यालय समयभित्र मिलाउने व्यवस्था मापदण्डमा गरिएको छ। यसबाट सकारात्मक सुरुआत हुने मन्त्रालयले अपेक्षा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here