झिनो अंकले बढ्यो नेप्से, कारोबार ३ अर्बमा सीमित

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)८.१५ अंकले बढेर २१७३.२५ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २४८ कम्पनीको ३ अर्ब ३ करोड २३ लाख ३९ रुपैयाँ बराबरको ८३ लाख १८७ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा घटेको छ । सोमवार३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.८८ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड समूह २.१० प्रतिशतले घटेको छ ।

बढ्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सानिमा जीआइसी इन्स्योरेन्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने सूर्योदय वोमी लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, शिव श्री हाइड्रोपावर ९.०२, गुह्येश्वरी मर्चेन्ट ६.६१, मल्टी प्रपोज फाइनान्स ६.४२, आदर्श लघुवित्त ६.११, उपकार लघुवित्त, पोखरा, फाइनान्स, नेपाल फाइनान्स र समृद्धि फाइनान्सको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै, शिवश्री हाइड्रोपावरको १० करोड र अपि पावर १० करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here