बाजुरा केन्द्रबिन्दु भएर भूकम्प: एक जनाको मृत्यु, दर्जनबढी घरमा क्षति

काठमाडौं । बाजुरामा गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौमुल गाउँपालिका-२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ ।

भूकम्पका कारण बाजुरा, बझाङ लगायत पहाडी जिल्लाका घरहरू भत्किएका छन् । तर, क्षतिको यकिन विवरण भने आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्ला सदरमुकाममा रहेको कृषि ज्ञान केन्द्रको लगायत दर्जन बढी आवासीय घरमा भूकम्पले क्षति पुर्‍याएको छ ।

केही घर भत्किएका छन्, भने केही घर चर्किएका छन् । भुकम्पबाट मानवीय क्षतिको विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराले केही स्थानमा घर भत्किएको खबर प्राप्त भएको जनाएको छ । सुदूरपश्चिममा सोमबार रातिदेखि बर्षासँगै पहाडी जिल्लामा हिमपातसमेत भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here